Latest Movie :

मानसिक तनावले लाग्छ यस्ता रोग (तनाव हटाउन के गर्ने ?)

मानसिक तनावका कारण मात्र धेरै खालका रोग लाग्न सक्छन् । तनावले पेटमा एसिड तत्व बढ्छ र लगातारको तनावले अल्सरसमेत गराउँछ । तनावले मुटुको धडकन बढ्ने, छाती दुख्ने, ब्लड प्रेसर बढ्ने र हृदयाघातसमेत हुन सक्छ । शरीरका विभिन्न भाग जस्तै टाउको, कम्मर आदि दुख्ने हुन्छ । यस्तै, छालाका केही रोग लाग्ने, निद्रा नलाग्ने समस्या, मदिरा सेवनको लत, लागूपदार्थ दुव्र्यसन, डिप्रेसन तथा चिन्तारोग आदि लाग्न सक्छन् ।
रोगहरूको यो लामो सूची हेर्दा मानसिक तनावमात्र हटाउन सक्यो भने या तनाव व्यवस्थापन गर्न सक्यो भने धेरै रोग कमगर्न सकिँदो रहेछ भन्ने जानकारी हुन्छ । आजकाल पश्चिमी देशमा विभिन्न मानसिक रोगहरूको उपचार गर्नका लागि काउन्सिलिङ्ग, साइकोथेरापी, संगीतबाट उपचार, नृत्यबाट उपचार, कग्निटिभ थेरापी, माइन्डफुलनेस बेस्ड कन्गिनिटिभ थेरापी आदि धेरै किसिमका थेरापीको प्रयोग गरिँदै आएको छ । यी विभिन्न थेरापीले औषधिको प्रयोग नगरीकन पनि रोग निको पार्न सक्छन् । यी थेरापीहरूले डिप्रेसन र चिन्ता रोगलाई राम्रो गर्छन् ।
म्युजिक थेरापी ः आधा घण्टा जति आफूलाई मनपर्ने संगीत ध्यान दिएर सुन्ने हो भने मनलाई शान्त पार्ने र रिल्याक्स गर्ने औषधि सेवन गरे बराबर काम गर्ने रहेछ । शास्त्रीय संगीतले अझ राम्रो असर पार्ने रहेछ ।
डान्स थेरापी ः यो राम्रो शारीरिक व्यायाम हो । यसले शरीरको वजन घटाउन र फूर्तिलो बनाउन सहयोग गर्छ । डान्सगर्दा मनमा आनन्द दिने केही रासायनिक तत्व पनि मष्तिस्कमा निस्कन्छन् र मन रिल्याक्स गर्दा रहेछन् । नेपाल, भारतलगायत पूर्वीय देशहरूमा भने हजारौं वर्षदेखि चल्दै आएकाप्राकृतिक उपचार विधि, जान्नेलाई देखाउने र झारफुक गर्ने, पुजा तथा प्रार्थना गरेर उपचार गर्ने, योगा गर्ने तथा ध्यान गर्ने जस्ता विधि चल्दै आएका छन् ।
योग र ध्यान ःयोगा र ध्यान राम्रोसंग सिकेर नियमित गर्ने हो भने धेरै किसिमका मानसिक स्वास्थ्य समस्याबाट पार पाउन सकिन्छ भन्ने मान्यता छ । सबैखाले मानसिक रोगनिको हुन्छन् भन्ने कुरा भने सत्य होइन । केही मानसिक रोग पूरै निको हुन्छन् भनेकेही रोगमा सुधार हुन सक्छ ।
भारतका योगगुरु रामदेवजीले त ८० प्रतिशत रोगहरू मानसिक तनावका कारण हुन्छन् र प्राणायाम, आसन, ध्यान र योग निद्रावाट डिप्रेसन,माइगे्रन,उच्च रक्तचाप र हृदयरोगलाई निको पार्न सकिन्छ सम्म भन्नु हुन्छ ।मेडिकल साइन्सले उहाँले भनेजस्तो तनावका कारण ८० प्रतिशत रोग लाग्छन् भन्ने त मान्दैन । तर मानसिक तनावका कारण केही रोग भने हुन सक्छन् । केही रोग तनावका कारण बढ्न सक्छन् । तनावको व्यवस्थापन राम्रोसंग नगर्ने हो भने उपचार गर्दा पनि रोग निको हुन कठिन हुन्छ । प्राणायाम, आसन तथा ध्यानले मानसिक तनावलाई घटाउँछ ।
योग र प्राकृतिक चिकित्सापछि आयुर्वेद र त्यसपछि मात्र आधुनिक चिकित्सा जन्मिएको मानिन्छ ।आधुनिक चिकित्सा पश्चिमी देशहरूमा द्रुतगतिमा विकास भयो । त्यसको प्रभावस्वरुप विकाशसील देशहरूमा प¥यो र प्राकृृृतिक चिकित्सा ओझेलमा पर्दै गयो ।
आजकल आधुनिक चिकित्सानै प्रमुख उपचार विधि भएको छ । तर यसमा परीक्षणहरू धेरै गर्नुपर्ने र महँगा औषधि प्रयोग गर्नुपर्ने भएकाले उपचार सेवा ज्यादै महंगो भएको छ । धेरै वर्षसम्म आधुनिक चिकित्सा पद्धति अभ्यास गरेपछि अनुभव हुन्छ कि यो चिकित्सा पनि पूर्ण छैन । किन रोग लाग्यो,किन जटीलता उत्पन्न भयो या किन रोग निको भएन भन्ने प्रश्न कयौं बिरामीबारे अनुत्तरित नै रहन्छ । प्राकृतिक उपचारगरेर विभिन्न रोग निको भएको कुरा हामीहरूले सुनेकै हो । यसको उपचार गर्ने अनुभव प्राप्त व्यक्ति वा यससम्वन्धी चिकित्सकले यसबारे यथार्थ बताउन सक्नु हुनेछ ।
मन्त्र : नेसनल इन्सिच्युट अफ मेन्टल हेल्थले गरेको अध्ययनअनुसार कुनै मन्त्र लगातार दोहो¥याउने या मन्त्र उच्चारण दोहोेयाइरहने गर्नाले रगतमा कोलेस्टेरोलको मात्रा घट्ने र ब्लड प्रेसरलाई नियन्त्रणमा राख्ने काम गर्छ र हृदयाघात हुनबाट बचाउँछ भन्ने देखाएको छ ।
विपश्यना ध्यान : एसएन गोयन्काले म्यानमार(वर्मा) का गुरुहरूवाट सिकेर भारत र नेपालमा सुरु गर्नु भएको ‘विपश्यना ध्यान’ सिकेर धेरै मानिसहरूले मनमा शान्ति प्राप्त गरेको र केही रोग निको भएको कुराहरू गर्नुहुन्छ । एसएन गोयन्काको आफ्नै अनुभवमा पनि माइग्रेन (एक किसिमको टाउको दुखाई)विपश्यनाले निको नै पार्ने रहेछ । मेडिकलविज्ञानमा माइग्रेन निको पार्ने औषधि छैन । तर दुखाई कम गर्ने र रोगनियन्त्रणमा राख्नसम्म सक्ने औषधि छन् ।
विपश्यना ध्यान भगवान गौतम बुद्धले सिकाउनु भएको हो र त्यसवेलादेखि पाली भाषामा लिखित ‘सुत्ता पिताका’ बाट लिइएको रहेछ । त्यस्तै ‘आर्ट अफ लिभिङ’ का गुरु रविशंकरले सिकाउने ‘सुदर्शन क्रिया’ सिकेर नियमित अभ्यास गर्दा मानसिक तनाव घट्ने र डिप्रेसन र चिन्तारोगलाई विना औषधि निको भएको भारतको बैंगलोरमा गरिएको अध्ययनबाट देखिएको छ ।
एक्युपंचर : चीनवाट सुरुभएको एक्युपंचर उपचार विधिले धेरै रोगनिको पार्छ भनिन्छ । एक्युपंचरको आफ्नै विज्ञान छ । औषधिसेवन नगरिकन कतिपय रोग यसबाट निको भएका छन् भन्ने पनि सुनिन्छ । यी विधिले के–कस्ता रोग निको पार्न सक्छन् भन्नेबारे भने यी विधि अभ्यास व्यक्तिसंग राम्रोसंग वुझ्नु आवश्यक छ ।
एक्युप्रेसर : एक्युपंचर नगरिकन एक्युप्रेसरले पनि दुखाई कम गर्न र रोग निको पार्न सकिन्छ भन्ने छ । तर यो नयाँ आएको विधि हो एकयुपंचर जत्तिकै राम्रो नहुन सक्छ ।
रेकी : जापानबाट सुरु भएको रेकीनेपालमा निकै प्रचलित रहेछ । त्यस्तै गरेर प्राणिक हिलिङ, क्वान्टम टच र चिलेल जस्ता उपचार विधि पनि रहेछन् । यी चिनिया विधि हुन् । यी सबै उपचार विधि निश्चयपनि निकै लाभदायक होलान् । लाभदायक नभएकुनै पनि विधि धेरै समय टिकि रहँदैनन् ।
विभिन्न मन्त्रहरूलाई शक्तिशाली बनाएर केही गुरुहरूले मन्त्रको बलबाट पनि उपचार गर्न सक्नुहुन्छ । हुनत कतिलाई विश्वास गर्न मुश्किल होला, शक्तिाली मन्त्रले पनि रोग निको पार्न सक्छ र भनेर । यो शरीर शक्तिले चलेको छ । इनर्जी फ्लो हुने शरीरमा हजारौ च्यानल छन् भन्ने मानिन्छ । कुनै कारणवस शरीरको इनर्जीफ्लो राम्रो गरी हुन सकेन भने रोग लाग्छ र ब्लक भएको ठाँउ खोल्ने र शक्ति संचारलाई सुधार गर्ने गर्दा रोग निको हुन्छ भन्ने यी विभिन्न उपचार विधिको मान्यता छ ।मेडिकल साइन्स वा आधुनिक उपचार विधिले भने यस्ता उपचारमा विश्वास गर्दैन ।
प्रकृति : वन,जंगल,खोला,झरना,पहाड,हरियाली भएको ठाउँ वा बगैचा जस्ता ठाउँमा बस्दा र समय बिताउँदा शरीरले उर्जा प्रदान गर्छ, मानसिक तनाव घट्छ, सफा र शुध्द हावामा साँस फेर्न पाइन्छ र मन ताजा हुन्छ भन्ने सबैलाई थाहा भएको कुरा हो । ट्रेकिङ्गमा जाने या वनभोज जाने कारण पनि यही हो । त्यस्तै गरेर नियमित शारीरिक व्यायाम गर्दा चिन्तारोग, डिप्रेसन तथा नकारात्मक सोचाईमात्र आउने समस्या निकै कम हुन्छ र रोग निको पार्न सहयोग हुन्छ ।
शारीरिक व्यायामले मष्तिष्कका केही रसजस्तै सेरोटोनिन, एस्टिाएलकोलीनर नरइपिनेफ्रिनलाई बढाउँछन् । यी रस चिन्तारोग, डिप्रेसन र नकारात्मक सोचाई कमगर्न आवश्यक पर्दछन् । शारीरिक व्यायाम गर्दा अन्य केही रस पनि निस्कन्छन र दुखाई समेत कम गर्दछन् । यस्तै, प्रेमभाव, मैत्रीभाव र सहयोगको भावले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ ।
खानपान र आहारमा ध्यान दिने
शरीरले खानाबाट शक्ति प्राप्त गर्दछ । त्यो शक्ति हामीले विभिन्न काम गर्दा खर्च गर्छाैं र शरीरले आफूभित्र हुने विभिन्न कामजस्तै खाना पचाउने, श्वासप्रश्वास, मुटुको गति चलाउने आदि काममा पनि खर्च गर्छ । शक्ति त धेरै किसिमका खाना तथा पेय पदार्थबाट प्राप्त गर्न सकिन्छ । तर शक्ति दिने र शरीरलाई पनि हानी नोक्सानी नगर्ने खाना रोज्नुपर्छ । सन्तुलित खाना खाने अर्थात् कार्बाेहाइड्रेट,प्रोटिन,फ्याट, भिटामिन,मिनरल्स,फाइवरजस्ता खानेकुरा हुनु राम्रो हुन्छ । हरियो सागपात र फलफूल स्वस्थ्यकर हुन्छ । आजकल समयबचाउने र मिठो खाने बहानामा फास्टफुड र जंक फुड खाने चलन छ । तर यी स्वस्थबद्धर्क छैनन् ।
यस्ता फास्टफुडबाट शक्ति त प्रशस्त पाइन्छ । तर सन्तुलित हुँदैन । क्यालोरीको मात्राबढी हुन्छ । फास्टफुडमा हानीगर्ने चिल्लो र बोसोजन्य पदार्थ बढी हुन्छ, जसका कारण वजन बढ्ने र मोटाउने हुन्छ र मष्तिष्क र शरीरलाई हानी गर्छ । यस्ता खानाले मुड खराब गर्ने, काम गर्दा निन्द्रा लाग्ने, छिट्टै भोक लाग्ने, र फेरि के खाउँजस्तो हुन्छ । तर आजकल विभिन्न मिडियाहरूले यस्तै चटपटे, विभिन्न स्वादका फास्टफुडहरूको विज्ञापन गरिरहेका हुन्छन् र यस्तै खानाहरूको चल्ती बढी छ ।
स्वस्थ रहनखानामा विशेष ध्यान दिने र आफुले खाएको खाना कस्तो छ ख्याल गर्नैपर्छ । क्यालोरी बढी भएको खानाले वजन बढाउछ ।बढी गुलियो,नुनिलो र चिल्लो खाना राम्रो मानिँदैंन ।
ग्रीन टीः ग्रीन टी मा एल–थियानिन भन्ने तत्व हुन्छ र यसले मष्तिस्कलाई रिल्याकस गर्न, कुनै कुरामा ध्यान राम्रो दिन र चिन्ता घटाउन सहयोग गर्छ । दिनको ३ कप ग्रीन टी पिउनाले यो फाइदा पाउन सकिन्छ ।
जिङकः खनिज पदार्थ जिङक पनि स्वस्थ शरीरका लागि आवश्यक पर्छ । हुनत सन्तुलित आहार खाने हो भने शरीर र मष्तिस्कलाई धेरैजसो आवश्यक पदार्थ प्राप्त हुन्छन् । तर खानामा राम्रो ध्यान नदिने र जंकफुड बढी खानेहरूलाई विभिन्न भिटामिन र मिनरलहरूको कमी हुन सक्छ । जिङकको कमीले शरीरमा स्फूर्ति कम हुने, चर्म रोग देखिने र यौन स्वास्थ्यमा असर पर्ने हुन्छ । भिटामिन बी कम्प्लेक्समा जिङकसमेत भएको क्याप्सुल खाने गर्दा यसको कमी हँुदैन ।
ओमेगा थ्रि फ्याट्टी एसिड : डिप्रेसन रोग लागेका बिरामीमा ओमेगा थ्रि फ्याट्टी एसिडको कमी भएको पाइएको छ । यो तत्व माछा खाँदा प्राप्त हुन्छ वा फिस ओयलको क्याप्सुल खान सकिन्छ । शाकाहारीका लागी फ्ल्याक्सिड ओयलको क्याप्सुल खान सकिन्छ । खानेकुराहरूमा ओखर, बदाम, देशी बदाम र भटमासमा पाइने चिल्लो पदार्थलाई राम्रो मानिन्छ । ओमेगा३ फ्याट्टी एसिडले मुटुलाई समेत राम्रो गर्छ ।
स्वस्थ जीवनशैली बिताउने, शारीरिक व्यायाम नियमित गर्ने, शरीरको वजन बढ्न नदिने, नमोटाउने, चुरोट नपिउने, खानेकुरामा विशेष ध्यान दिने र जंकफुड सकभर नखाने, बेला बेलामा ब्लड प्रेसर चेक गर्ने, रगत परीक्षण गरि कोलेस्टेरोल, ट्राइग्लिसराइडको अवस्था हेर्ने, आवश्यक परे ब्लड प्रेसर र कोलेस्टेरोललाई नियन्त्रण गर्न औषधिको प्रयोग गर्ने आदि गर्दा शरीर र मष्तिष्कलाई स्वस्थ राख्न सकिन्छ । स्वस्थ्य जीवनशैलीले शारीरिक तथा मानसिक रोग लाग्नबाट सकभर वचाउँछ ।

Gets Daily Updates!

Follow us!

Share This Movie :

Comment with Your Facebook Account